मचाराजा महर्जनले जगाए स्वरोजगारको आशा, वडा २३ मा हस्तकला मेला

nepal news portal

काठमाडौँ | स्थानीय कला, संस्कृति र महिला स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका वडा नं. २३ मा “सीप सिकौँ, स्वरोजगार बनौँ” भन्ने मूल नाराका साथ साप्ताहिक सांस्कृतिक कार्यक्रम तथा हस्तकला व्यापार मेला उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ।

गत वैशाख १३ गतेदेखि सुरु भएको यो मेला आगामी जेठ १७ गतेसम्म प्रत्येक हप्ताको आइतबार आयोजना हुनेछ। वडा कार्यालयको यो पहलले स्थानीय समुदायमा नयाँ उत्साह भर्नुका साथै आर्थिक आत्मनिर्भरताको बाटो देखाएको छ।

वडाभित्रका विभिन्न गुठीमा आबद्ध महिला समूहहरूले उत्पादन गरेका मौलिक हस्तकलाका सामग्रीहरू मेलामा बिक्री तथा प्रदर्शनका लागि राखिएका छन्। स्थानीय कलाकारहरूको प्रतिभा उजागर गर्न हरेक आइतबार विशेष सांगीतिक तथा नृत्य कार्यक्रमहरू आयोजना हुने गरेका छन्।

मेलामा स्थानीय महिला समूहहरूले उत्पादन गरेका विभिन्न हस्तकला सामग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि राखिने गरेको वडा नं. २३ का वडाध्यक्ष मचाराजा महर्जनले जानकारी दिए । “हाम्रो मुख्य उद्देश्य वडाका महिलाहरूलाई सीपमूलक काममा जोडेर उनीहरूलाई आत्मनिर्भर बनाउनु हो। गुठी र स्थानीय समूहमा आबद्ध महिलाहरूको प्रतिभालाई बजारसँग जोड्दा उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने हाम्रो विश्वास छ।”

मेलामा हस्तकलाका साथै परम्परागत कला र संस्कृतिलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ। स्थानीय बाजागाजा, गीत र नृत्यको प्रस्तुतिले नयाँ पुस्तालाई आफ्नो मौलिक परम्परा बुझ्न मद्दत पुगेको आयोजकको भनाइ छ।

वडा कार्यालयका अनुसार, यस कार्यक्रमको प्रभावकारितालाई हेर्दै आगामी दिनमा यसलाई अझ व्यवस्थित र बृहत् बनाउने योजना रहेको छ। यसबाट थप धेरै महिलाहरू लाभान्वित हुने र स्थानीय उत्पादनले राष्ट्रिय पहिचान पाउने अपेक्षा गरिएको छ।

प्रत्येक आइतबार आयोजना हुने यस मेलाले महिला सशक्तीकरणका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको देखिन्छ।